﻿भजनसंग्रह.
120.
आरोहणको गीत। मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ। 
हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्। 
ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहुनेछ? अनि अझ बढ्ता के गर्नुहोला? 
उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ! 
मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु! 
शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो। 
म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्। 
