﻿भजनसंग्रह.
118.
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। 
इस्राएलले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।” 
हारूनको घरानाले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।” 
याहवेहको भय मान्‍नेहरूले भनून्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।” 
मेरो कष्‍टमा मैले याहवेहलाई पुकार गरेँ, उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो। 
याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र? 
याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूमाथि विजयको दृष्‍टिले हेर्छु। 
मानिसमाथि भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो। 
राजकुमारहरूमा भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो। 
सम्पूर्ण राष्ट्रहरूले मलाई घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ। 
तिनीहरूले मलाई घेरेका थिए, हो तिनीहरूले घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ। 
तिनीहरूले मलाई मौरीहरूले झैँ घेरेका थिए; तर तिनीहरू काँडाहरूमा लागेका आगोझैँ निभिहाले; याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ। 
मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ; तर याहवेहले मलाई सहायता गर्नुभयो। 
याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ, उहाँ मेरो मुक्ति हुनुभएको छ। 
धर्मीहरूका पालहरूमा हर्ष र विजयको सोर गुञ्जिन्छ: “याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्! 
याहवेहका दाहिने बाहुली उच्‍च पारिएको छ; याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।” 
म मर्नेछैनँ, तर जीवित रहनेछु, र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु। 
याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ; तर उहाँले मलाई मर्न दिनुभएको छैन। 
मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्; म तीभित्र पस्‍नेछु र याहवेहलाई धन्यवाद दिनेछु। 
याहवेहको ढोका यही हो, जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्। 
म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो, तपाईं मेरो मुक्ति हुनुभएको छ। 
जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो; 
यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। 
आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ। 
हे याहवेह, हामीलाई बचाउनुहोस्; हे याहवेह, हामीलाई सफलता दिनुहोस्! 
याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ। 
याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध! 
तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु। 
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। 
