﻿भजनसंग्रह.
116.
म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्‍नुभयो; उहाँले मेरो दयाको पुकार सुन्‍नुभयो। 
किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु। 
मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो। 
तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!” 
याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्‍वर कृपाले पूर्ण हुनुहुन्छ। 
याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो। 
हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ। 
किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। 
ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्‍डुल गर्न सकूँ। 
मैले याहवेहमा विश्‍वास गरेँ, यसकारण मैले भनेँ, “म धेरै पीडित छु।” 
अनि आफ्नो व्याकुलतामा मैले भनेँ, “हरेक मानिस झूटो हो।” 
याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा, म उहाँलाई के फिर्ता दिन सक्छु र? 
म मुक्तिको कचौरा उठाउनेछु र याहवेहको नाममा पुकार गर्नेछु। 
याहवेहलाई गरेका मेरो भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु। 
याहवेहको नजरमा, उहाँका विश्‍वासयोग्य जनहरूको मृत्यु अनमोल छ। 
हे याहवेह, साँच्‍चै नै म तपाईंको सेवक हुँ; म तपाईंकी सेविकाको छोरो, तपाईंको सेवक हुँ; तपाईंले मलाई मेरो बन्धनबाट छुटाउनुभएको छ। 
म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, र याहवेहको नाममा पुकार गर्नेछु। 
याहवेहलाई गरेका मेरा भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु; 
याहवेहको भवनको चोकहरूमा, हे यरूशलेम, तेरो बीचमा म त्यो पूरा गर्नेछु। याहवेहको प्रशंसा गर! 
