﻿भजनसंग्रह.
112.
याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ, जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ। 
त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्; धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्। 
त्यसको घरमा धन र सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ। 
सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्, तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ। 
उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ। 
अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ। 
खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ। 
तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्। 
तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ। 
दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्; दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्। 
