﻿भजनसंग्रह.
109.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। मेरा परमेश्‍वर, जसको म प्रशंसा गर्छु, तपाईं चुप लागेर नबस्‍नुहोस्; 
किनकि दुष्‍ट र छली मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्; तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्। 
तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्; कारणविना तिनीहरू मलाई हमला गर्छन्। 
मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्, तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ। 
तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा गर्छन्। 
मेरो शत्रुका विरोध गर्न कुनै दुष्‍ट मानिसलाई खटाउनुहोस्; त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्! 
त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्, र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्! 
त्यसको आयु कम होस्; त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्! 
त्यसका छोराछोरीहरू अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस्! 
त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्; तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्। 
त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्; त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्! 
त्यसमाथि कसैले पनि दया नगरोस्, न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्! 
त्यसका सन्तानहरू मरेर जाऊन्; र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्! 
याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्; त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्! 
तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्, ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्! 
किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन, तर दुःखी, अभावग्रस्त र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो। 
त्यसले श्राप दिन मन पराउँथ्यो— त्यसको श्राप त्यसमाथि नै आइपरोस्; त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्! 
त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो; त्यो पानीझैँ त्यसको पेटभित्र तेलझैँ त्यसका हाडहरूमा पसोस्! 
श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्, र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्। 
मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्‍ट कुरा गर्नेहरूलाई याहवेहबाट यस्तै प्रतिफल मिलोस्! 
तर हे प्रभु याहवेह, तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्; तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्! 
किनकि म गरिब र खाँचोमा छु, र मभित्र मेरो हृदय घाइते भएको छ। 
म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु; म सलहझैँ हुत्त्‍याइएर फालिएको छु। 
उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्; मेरो शरीर हाड र छाला मात्र भएको छ। 
मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु; जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्‍लाउँछन्। 
हे याहवेह, मेरा परमेश्‍वर, मलाई मदत गर्नुहोस्; तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्; 
ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्; हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्! 
तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्; मलाई आक्रमण गर्नेहरू लाजमा परून्; तर तपाईंको सेवक रमाओस्! 
मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्! 
म मेरा ओठले याहवेहलाई उच्‍च प्रशंसा गर्नेछु; आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु। 
किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ। 
