﻿भजनसंग्रह.
108.
एउटा गीत, दावीदको भजन। हे परमेश्‍वर, मेरो हृदय स्थिर छ; म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु। 
हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु। 
हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु। 
किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ। 
हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्। 
तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्। 
परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु। 
गिलाद मेरो हो, मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो। 
मोआब मेरो हात धुने भाँडो हो; एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउनेछु।” 
किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला? 
हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन? 
शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ। 
परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ; र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ। 
