﻿भजनसंग्रह.
104.
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ; तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ। 
पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ; उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ; 
उहाँले आफ्नो माथिल्‍लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ। उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ; र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ। 
उहाँले बतासलाई आफ्ना दूत, र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ। 
उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो; त्यो कहिल्यै डगमगाउनेछैन। 
तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो; पानी पर्वतहरूमाथि पुगेको थियो। 
तर तपाईंको हप्कीमा पानी भागे, तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए; 
पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे, तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए। 
पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो। 
उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ; ती पर्वतका बीच भएर बग्दछन्। 
तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्; अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्। 
आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्; हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्। 
उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ; उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ। 
उहाँले गाईबस्तुका निम्ति घाँस, र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ; र जमिनबाट आहारा ल्याउनुहुन्छ। 
मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य, त्यसको मुख चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ। 
याहवेहका रूखहरू र उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्‍त पानी पाउँछन्। 
त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्; सारसले पनि सल्‍लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ। 
अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्; पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्। 
ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो; सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ। 
तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ; र सबै जङ्गली पशुहरू निस्किआउँछन्। 
सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन् र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्। 
सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्; तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्। 
तब मानिसहरू आफ्ना काममा जान्छन्, र साँझसम्म परिश्रम गर्छन्। 
हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ! ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सृष्‍टिले भरिपूर्ण छ। 
त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगन्ती जीवजन्तुहरू छन्— साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्। 
त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्; त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो। 
ठिक समयमा आफ्ना आहारा पाउने आशाले तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्। 
जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ, तब तिनीहरूले त्यो बटुल्छन्; जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, तिनीहरू उत्तम पदार्थहरूले तृप्‍त हुन्छन्। 
जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्; जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्। 
जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, तब तिनीहरूको सृष्‍टि हुन्छ; र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ। 
याहवेहको महिमा सदासर्वदा रहिरहोस्; याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्— 
उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ; उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ। 
म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्‍वरको प्रशंसा गाउनेछु। 
जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्। 
तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्, र दुष्‍टहरू रहँदै नरहून्! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! याहवेहको प्रशंसा गर्! 
