﻿भजनसंग्रह.
97.
याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्। 
उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्। 
आगो उहाँको अगि-अगि जान्छ, र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ। 
उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ। 
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ। 
स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्। 
मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर! 
तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्। 
किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ। 
याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ। 
धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ। 
हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर! 
