﻿भजनसंग्रह.
95.
आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ; हाम्रा मुक्तिका चट्टानको निम्ति उच्‍च सोरले जयजयकार गरौँ! 
धन्यवाद चढाउँदै उहाँको सामु आऔँ, भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ! 
किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा। 
पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्। 
समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो, र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए। 
आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ; याहवेह हाम्रा सृष्‍टिकर्ताको अगि घुँडा टेकौँ; 
किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ। यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, 
“तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार; जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा गरेका थियौ, 
जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे; तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए। 
चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ, र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’ 
यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ” 
