﻿भजनसंग्रह.
93.
याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ। 
अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ। 
हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्। 
महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ। 
हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ। 
