﻿भजनसंग्रह.
90.
परमेश्‍वरका जन मोशाको प्रार्थना। हे प्रभु, पुस्तौँ-पुस्तादेखि तपाईं हाम्रा वासस्थान हुनुभएको छ। 
पहाडहरू उत्पन्‍न हुनुभन्दा अगि, अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि, अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्‍वर हुनुहुन्छ। 
तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ, “ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!” 
तपाईंको दृष्‍टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ। 
तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्: 
त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ। 
तपाईंको क्रोधले हामी नष्‍ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ। 
तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्। 
हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ। 
हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, अथवा बलले साथ दियो भने, असीसम्म; तापनि त्यसको उत्तम अवधि पनि कष्‍ट र शोकमा बित्छ; किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ। 
तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। 
हामीलाई हाम्रा दिनहरू गन्‍न सिकाउनुहोस्, ताकि हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौँ! 
हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्! 
हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ। 
जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्! 
तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्! 
प्रभु हाम्रा परमेश्‍वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्! 
