﻿भजनसंग्रह.
86.
सङ्कष्‍टमा दावीदको प्रार्थना। हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्; किनकि म असहाय र अभावग्रस्त छु। 
मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ; तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; 
हे प्रभु, ममाथि दयालु हुनुहोस्; किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु। 
आफ्नो सेवकलाई हर्षित पार्नुहोस्; किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु। 
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ; तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ। 
हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्; दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्! 
जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु; किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ। 
हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्; तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन। 
हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू तपाईंको सामु आएर दण्डवत् गर्नेछन्; तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्। 
किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ; तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ। 
हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ; मलाई एकाग्र मन दिनुहोस्, र म तपाईंको नामको भय मान्‍न सकूँ। 
हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु। 
किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ; तपाईंले मेरो जीवनलाई पातालको गहिराइबाट छुटाउनुभएको छ। 
हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्; निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्— ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्। 
तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ; रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ। 
मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु। 
तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्; र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्; किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ। 
