﻿भजनसंग्रह.
83.
एउटा गीत, आसापको भजन। हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्! 
हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्। 
तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्‍नुभएकाहरूको विरुद्धमा मतो गर्छन्। 
तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्‍ने नामको सम्झना नै नरहोस्!” 
तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्— 
एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू, 
गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू। 
लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला 
मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्, 
जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए। 
तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्; 
जसले भने, “हामी परमेश्‍वरका खर्कलाई कब्जा गरौँ।” 
हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्! 
जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ, 
त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्! 
तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्। 
तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्‍ट होऊन्। 
तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ। 
