﻿भजनसंग्रह.
82.
आसापको भजन। परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ; “देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ। 
कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्‍टहरूको पक्ष लिइरहन्छौ? सेला 
दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर! 
दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर! 
“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्। 
“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’ 
तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।” 
हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्। 
