﻿भजनसंग्रह.
80.
सङ्गीत निर्देशकको निम्ति, “करारका लिली फूल” को रागमा आधारित, आसापको भजन। हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्; तपाईं, जसले योसेफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्! 
एफ्राइम, बेन्यामीन र मनश्शेको सामु। आफ्नो सामर्थ्य जगाउनुहोस्; आउनुहोस् र हामीलाई बचाउनुहोस्! 
हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ। 
हे याहवेह, सेनाहरूका परमेश्‍वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध, तपाईंको क्रोध कहिलेसम्म सल्किरहन्छ? 
तपाईंले तिनीहरूलाई आँसुका रोटी खुवाउनुभएको छ; र पिउनलाई कचौराभरि आँसु दिनुभएको छ। 
तपाईंले हामीलाई छिमेकीहरूका लागि झगडाको पात्र बनाउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्। 
हे सेनाहरूका परमेश्‍वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ। 
तपाईंले इजिप्टबाट एउटा दाखको बोट ल्याउनुभयो; र राष्ट्रहरूलाई लखेटेर त्यसलाई रोप्नुभयो। 
तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो, र त्यसको जरो गड्यो; र त्यो देशभरि फैलियो। 
त्यसका छायाले पहाडहरू ढाकिए, र त्यसका हाँगाबिँगाहरूले शक्तिशाली देवदारुका रूखहरू ढाके। 
त्यसका हाँगाहरू भूमध्य समुद्रसम्म गए, अनि त्यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्मै फैलिए। 
तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ? के त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्? 
जङ्गलका बँदेलहरूले त्यसलाई नष्‍ट पार्छन्। र जङ्गली जनावरहरू त्यसमा चर्छन्। 
हे सेनाहरूका परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्! स्वर्गबाट तल दृष्‍टि गर्नुहोस् र हाम्रो दुर्दशा हेर्नुहोस्! यस दाखको बोटको हेरचाह गर्नुहोस्। 
तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा, त्यो दाख, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ। 
तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढाइएको छ; तपाईंको हप्कीले तपाईंका प्रजा नष्‍ट हुन्छन्। 
तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्। त्यो मानिसको पुत्र, जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ। 
तब हामी तपाईंबाट पिठिउँ फर्काउनेछैनौँ; हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्, र हामी तपाईंका नाम पुकार गर्नेछौँ। 
हे याहवेह, सेनाहरूका परमेश्‍वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बचाइन सकौँ। 
