﻿भजनसंग्रह.
76.
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत। यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ। 
उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ। 
त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला 
तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ। 
साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन। 
हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्। 
तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र? 
स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो— 
हे परमेश्‍वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला 
निश्‍चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्। 
तिमीहरूका परमेश्‍वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्। 
उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्। 
