﻿भजनसंग्रह.
75.
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत। हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्। 
तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु। 
जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला 
घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ, 
स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ; मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ” 
किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट वा मरुभूमिबाट आउँदैन। 
परमेश्‍वरले न्याय गर्नुहुन्छ: उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ, 
याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले मद्यको थिग्रासम्मै पिउँछन्। 
तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु, 
जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।” 
