﻿भजनसंग्रह.
73.
आसापको भजन। साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ। 
तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ; 
किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ। 
तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्‍टपुष्‍ट र बलिया छन्। 
अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन। 
यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन। 
तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्‍ट कल्पनाको कुनै सीमा छैन। 
तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्। 
तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्। 
त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्। 
तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र? के सर्वोच्‍च परमेश्‍वरमा कुनै कुराको ज्ञान छ र?” 
दुष्‍टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्। 
साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु। 
दिनभरि म कष्‍ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ। 
यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्‍वासघात गर्नेथिएँ। 
जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो। 
जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ। 
निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ। 
केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्! 
तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्‍नुहुन्छ। 
जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो, 
म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ। 
तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। 
तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ। 
स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन। 
मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्‍वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ। 
तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्; तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ। 
तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु। 
