﻿भजनसंग्रह.
70.
सङ्गीत निर्देशकको निम्ति, दावीदको बिन्ती भजन। हे परमेश्‍वर, मलाई बचाउनुहोस्; हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्! 
मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्। 
मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्दै ठट्टा उडाउनेहरू, लाजको कारण पछि फर्कून्। 
तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “परमेश्‍वर महान् हुनुहुन्छ!” 
तर म त गरिबी र अभावमा छु; हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस्; तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ; हे याहवेह, ढिलो नगर्नुहोस्! 
