﻿भजनसंग्रह.
66.
सङ्गीत निर्देशकको निम्ति, एक गीत; एक भजन। हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर! 
उहाँको नामको महिमा गर; र उहाँको प्रशंसा महिमामय बनाओ। 
परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्। 
सारा पृथ्वी तपाईंको सामु झुक्छ; तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्, तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला 
आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर; मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू! 
उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो, तिनीहरूले पैदलै सुक्खा नदी तरे— आओ, हामी उहाँमा आनन्द मनाऔँ। 
परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ; उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ— तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला 
हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर, उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्; 
उहाँले हामीलाई जीवित राख्नुभएको छ, र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन। 
किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो; तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो। 
तपाईंले हामीलाई कैदमा पार्नुभयो; र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो। 
तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो; हामी आगो र पानीद्वारा भएर गयौँ; तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो। 
म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु। 
जब म सङ्कष्‍टमा थिएँ, मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु। 
म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु; र भेडाहरूको भेटी चढाउनेछु; म बहरहरू र बोकाहरू चढाउनेछु। सेला 
हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु। 
मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ; उहाँको प्रशंसा मेरो जिब्रोमा थियो। 
यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन; 
तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ; र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ। 
परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन, वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन! 
