﻿भजनसंग्रह.
63.
यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन। हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ। 
पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु। 
तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ; यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ। 
मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म मेरो हात उचाल्नेछु। 
मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ; स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ। 
मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु। 
किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु। 
मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ। 
मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्; तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्। 
तिनीहरू तरवारद्वारा मारिनेछन्; र स्यालहरूको आहारा हुनेछन्। 
तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्; परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ। 
