﻿भजनसंग्रह.
61.
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन। हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्। 
जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्। 
किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ, तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ। 
तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्‍ने मेरो चाहना छ। सेला 
किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ; तपाईंको नामको भय मान्‍नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ। 
राजाको आयु बढाइदिनुहोस्; पुस्तौँसम्म उनको आयु बढाउनुहोस्। 
उनी परमेश्‍वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्‍वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्! 
तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु। 
