﻿भजनसंग्रह.
60.
सङ्गीत निर्देशकको निम्ति, “करारको लिली” लयमा आधारित, दावीदको मिक्ताम, जब उनले अराम नहरेम र आराम सोबाह, र नुनको बेँसीमा युद्ध गरे, तब योआबले 12 हजार एदोमीहरूलाई मारेर फर्के। हे परमेश्‍वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ; तपाईं हामीसँग रिसाउनुभएको छ—अब हामीलाई पुनर्स्थापित गर्नुहोस्! 
तपाईंले धर्तीलाई हल्‍लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्‍ला पार्नुभएको छ; पृथ्वीका धाँदाहरू जोडिदिनुहोस्; किनकि त्यो हल्‍लिँदैछ। 
तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ; तपाईंले हामीलाई पिएर धरमराइदिने मद्य दिनुभएको छ। 
तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले विजयको झण्डा उच्‍च पार्नुभएको छ, ताकि तिनीहरूले धनुबाट सुरक्षा पाउन सकून्। सेला 
तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्। 
परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु। 
गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो। 
मोआब मेरो हात धुने भाँडो हो, एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउँछु।” 
किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला? 
हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई अहिले त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन? 
शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ। 
परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ। 
