﻿भजनसंग्रह.
41.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ। 
याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न। 
याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ। 
मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” 
मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” 
जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ। 
मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्, 
“त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।” 
मेरो घनिष्‍ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ। 
तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ! 
म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ; किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्। 
मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ। 
याहवेह, इस्राएलका परमेश्‍वरलाई, सदासर्वदा प्रशंसा होस्! 
