﻿भजनसंग्रह.
39.
सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन। मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्‍टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।” 
तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो। 
मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ: 
“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्! 
तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला 
“निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्। 
“हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ। 
मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्। 
म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ। 
तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु। 
जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ— साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला 
“हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ। 
मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।” 
