﻿भजनसंग्रह.
36.
सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन। दुष्‍टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन। 
तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्। 
तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्। 
तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्। 
हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ। 
तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ। 
हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्। 
तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ। 
किनकि जीवनको स्रोत तपाईंसँग छ; तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ। 
तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्। 
अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्। 
दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्; तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्। 
