﻿भजनसंग्रह.
35.
दावीदको भजन। हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्; मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। 
ढाल लिनुहोस् र कवच पहिरनुहोस्; उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्। 
मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्‍नुहोस्, “म तेरो मुक्ति हुँ।” 
मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्। 
याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्। 
याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्; तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्। 
किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने, 
अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्‍ट होऊन्। 
तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ, र उहाँको मुक्तिमा हर्षित हुनेछ। 
मेरो पूरा बलले भन्‍नेछु, “हे याहवेह, तपाईंजस्तो को छ र? तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ, अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।” 
निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्। 
तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ। 
तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ; र उपवास बसेर आफूलाई दुःखित बनाएँ, जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो, 
मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ, म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ। आफ्नी आमाको निम्ति विलाप गरेझैँ मैले शोकमा शिर झुकाएँ। 
तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे; मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे। 
भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे। 
हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। 
म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु। 
मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्। 
तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। 
तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।” 
हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्! 
हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्। 
हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्। 
तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।” 
मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्। 
म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।” 
मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ। 
