﻿भजनसंग्रह.
28.
दावीदको भजन। हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु। 
मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्। 
मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्‍ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्। 
तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्। 
किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन। 
याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ। 
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु। 
याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ। 
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्। 
