﻿भजनसंग्रह.
24.
दावीदको भजन। पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्; 
किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो। 
याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? 
त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन। 
तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ। 
उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्‍वर। सेला 
हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्। 
यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ। 
हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्। 
महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला 
