﻿भजनसंग्रह.
23.
दावीदको भजन। याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन। 
उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ। 
उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ। 
मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्। 
तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ। 
निश्‍चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु। 
