﻿भजनसंग्रह.
18.
सङ्गीत निर्देशकको निम्ति, याहवेहका सेवक दावीदले लेखेको भजन; शत्रुहरू र शाऊलका हातबाट याहवेहले बचाउनुहुँदा दावीदले याहवेहको निम्ति गाएको भजन। हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु। 
याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारकर्ता हुनुहुन्छ; मेरो परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु, उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्‍च गढ हुनुहुन्छ। 
म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म मेरा शत्रुहरूबाट बचाइन्छु। 
मृत्युका पासोहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत बनाए; 
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो। 
मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्‍वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो। 
पृथ्वी काम्यो, र हल्‍लियो; र पहाडका जगहरू हल्‍लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो। 
उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। 
उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो। 
करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो। 
उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो। 
उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो। 
याहवेह स्वर्गबाट गर्जनुभयो; असिना र बिजुलीका साथ सर्वोच्‍चको सोर गुञ्जायमान भयो। 
उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो। 
हे याहवेह, तपाईंको हप्काइले र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए। 
उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। 
उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए। 
मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो। 
उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो। 
याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ। 
किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। 
उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। 
म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु। 
याहवेहले मेरो धार्मिकताअनुसार, उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ। 
विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ; 
शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। 
तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। 
हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। 
तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। 
परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। 
किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र? 
उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ। 
उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। 
उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। 
तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ। 
तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्। 
मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। 
मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। 
तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। 
तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। 
तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। 
मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ। 
तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्। 
विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। 
तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। 
याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा मुक्तिदाता, उच्‍च होऊन्! 
उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, 
जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। 
यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। 
उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा। 
