﻿भजनसंग्रह.
10.
हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्‍टको समयमा किन आफूलाई लुकाउनुहुन्छ? 
दुष्‍टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्। 
तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्। 
दुष्‍टहरूले आफ्नो घमण्डमा परमेश्‍वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन। 
दुष्‍टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्। 
तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्‍लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।” 
तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्‍टता र गलत कुरा हुन्छन्। 
तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्‍त स्थानहरूमा खोजिरहन्छ। 
तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्। 
तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्‍टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्। 
तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्‍वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्‍न।” 
हे याहवेह, उठ्नुहोस्, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्। 
किन दुष्‍टहरूले परमेश्‍वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?” 
तर हे परमेश्‍वर, तपाईं दुःखीहरूका सङ्कष्‍ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ। 
दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्। 
याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ; उहाँको देशबाट जाति-जातिहरू नष्‍ट हुनेछन्। 
हे याहवेह, तपाईंले कष्‍टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ; तपाईं तिनीहरूका पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ। 
तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ, ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्‍चाओस्। 
