﻿भजनसंग्रह.
5.
सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन। हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्। 
हे मेरा राजा, मेरा परमेश्‍वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु। 
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु। 
तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न; दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्। 
घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। 
झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ। 
तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु। 
हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्। 
तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्। 
हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्। 
तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्। 
निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। 
