﻿भजनसंग्रह.
3.
दावीदको भजन; आफ्नो छोरा अब्शालोमदेखि भाग्दा उनले लेखेको भजन। हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्! 
धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला 
तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ। 
म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला 
म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ। 
मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। 
हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्। 
याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला 
