﻿इयोब.
31.
“मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु। 
किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग, उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो? 
के दुष्‍ट मानिसहरूका निम्ति विनाश, र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र? 
के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र? 
“यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने, 
परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्। 
यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए, 
तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्। 
“यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए, 
मेरी पत्नीले अर्कै मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्; 
किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो। 
किनकि यो त जलेर भस्म पार्ने आगो हो; यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ। 
“मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, चाहे स्त्री होस् वा पुरुष, यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए, 
परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ? उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ? 
के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र? 
“यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए, 
यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए— 
तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ— 
यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा, 
अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए, 
यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, मैले अनाथहरूका विरुद्ध हात उठाएको भए, 
त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, त्यो जोर्नीबाट चुँडिओस्। 
किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ, र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ। 
“यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’ 
यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने 
यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए, 
जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए, 
त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ। 
“यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए— 
मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ— 
यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, “इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?” 
तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो, 
के मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर मेरो पाप ढाकेको छु र? 
म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र? 
(“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्। 
निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ। 
म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।) 
“यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने, 
यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने 
त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए। 
