﻿इयोब.
23.
तब इयोबले जवाफ दिए: 
“आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ। 
यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; यदि म उहाँको वासस्थानमा जान सक्ने भए, 
म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ। 
उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ। 
के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन। 
त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ। 
“यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न; यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ। 
जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ। 
तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ; जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु। 
मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु। 
म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु। 
“तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ। 
उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ। 
यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु। 
परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ। 
बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन। 
