﻿इयोब.
8.
तब बिल्दद शुहीले यस्तो जवाफ दिए: 
“कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्। 
के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्‌ले ठिक कुरालाई बिगार्नुहुन्छ र? 
जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो। 
तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्‌सँग बिन्ती गर्नुभयो भने 
यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने, परमेश्‍वर आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ। 
तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ। 
“पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्, 
किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्। 
के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र? 
के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र? 
तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्। 
परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ। 
तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ। 
तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन। 
तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्; 
त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ। 
तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’ 
निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्। 
“निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न अथवा दुष्‍ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्‍न। 
उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ। 
तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्; र दुष्‍टका पालहरू रहनेछैनन्।” 
