﻿2 इतिहास.
36.
तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए। 
राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। 
इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए। 
इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए। 
राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे। 
बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे। 
नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे। 
यहोयाकीमको शासनकालका अरू घटनाहरू, तिनले गरेका घिनलाग्दा कुराहरू र तिनका विरुद्धमा पाइने सबै कुराहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए। 
राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। 
बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। 
राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। 
तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्। 
तिनी आफूलाई परमेश्‍वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्‍वरतिर फर्केनन्। 
यसबाहेक पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू झन्-झन् अविश्‍वासी भए। सबै जातिहरूका घिनलाग्दा रीतिहरूका पछि लागेर याहवेहले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अशुद्ध पारे। 
आफ्नो जाति र आफ्नो वासस्थानप्रति टिठाउनुभएको कारण याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरी-घरी वचन पठाउनुभयो। 
तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्‍ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन। 
उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनका राजालाई ल्याउनुभयो, जसले तिनीहरूका जवान मानिसहरूलाई पवित्रस्थानको भवनभित्र तरवारले मारिदिए। के जवान पुरुष वा स्त्री वा वृद्ध मानिस र बुढापाका, कसैलाई पनि बाँकी राखेनन्। याहवेहले तिनीहरू सबैलाई नबूकदनेसरकहाँ सुम्पिदिनुभयो। 
तिनले परमेश्‍वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे। 
तिनीहरूले परमेश्‍वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए। 
तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे। 
यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ दिनहरू पालन गरिह्‍यो। 
परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: 
“परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह स्वर्गका परमेश्‍वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्‍वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”
