﻿2 इतिहास.
27.
योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 
तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे। 
योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। 
तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए। 
योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट चाँदी, दश हजार कोर गहुँ र दश हजार कोर जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए। 
याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए। 
योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। 
राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 
योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए। 
