﻿2 इतिहास.
23.
सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए। 
तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए। 
तब सारा समुदायले राजासित परमेश्‍वरको मन्दिरमा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्। 
अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथ दिनमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहून्। 
एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ। 
याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्‍न पाउनेछैनन्, तिनीहरू मात्र पस्‍न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ। 
लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्‍ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।” 
लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथ दिनमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्। 
तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए। 
तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए। 
यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!” 
जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्‍ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्। 
तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्। 
पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए। 
यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे। 
त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। 
सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे। 
त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए। 
कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्‍न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे। 
तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्‍लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए। 
अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्। 
