﻿2 इतिहास.
10.
सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए। 
जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए। 
यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने: 
“तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।” 
रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले। 
तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?” 
तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।” 
तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए। 
तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?” 
तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ। 
मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’ 
“तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए। 
राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे। 
तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।” 
यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्‍वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो। 
जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए। 
तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे। 
राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए। 
यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ। 
