﻿2 इतिहास.
5.
जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्‍वरको मन्दिरका भण्डारहरूमा राखे। 
तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए। 
इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए। 
इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए। 
तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए। 
सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो। 
त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए। 
सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो। 
ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्। 
त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो। 
त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए। 
सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए। 
तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो; 
अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्‍वरको मन्दिर याहवेहको महिमाले भरियो। 
