﻿2 इतिहास.
3.
तब सोलोमनले तिनका पिता दावीदकहाँ याहवेह देखा पर्नुभएको मोरीयाह पर्वतमाथि यरूशलेममा याहवेहको भवन निर्माण गर्न सुरु गरे। त्योचाहिँ यबूसी अरौनाको खलामा तिनका पिता दावीदले प्रबन्ध गरेको स्थानमा थियो। 
तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे। 
सोलोमनले परमेश्‍वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो। 
मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे। 
तिनले मुख्य सभाकक्षमा सल्‍लाका फलेकहरू लगाएर त्यसलाई निखुर सुनले मोहोरे; अनि खजूरका रूख र साङ्लाका बुट्टा बनाए। 
तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो। 
तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे। 
तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट निखुर सुनले मोहोरे। 
सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे। 
तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे। 
करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो। 
त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो। 
यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए। 
तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए। 
मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो। 
तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए। 
तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन र उत्तरतिरको नाम बोअज राखे। 
