﻿2 इतिहास.
2.
सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए। 
सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए। 
सोलोमनले टायरका राजा हीरामकहाँ यो सन्देश पठाए: “मेरा पिता दावीदका निम्ति बस्‍न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्। 
अब म याहवेह मेरा परमेश्‍वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथको दिन र औँसीहरूमा याहवेह हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो। 
“मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्‍वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ। 
तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्‍च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्‍न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र? 
“यसकारण मलाई सुन, चाँदी, काँसा, फलाम, बैजनी, रातो र निलो धागोमा काम गर्ने एक दक्ष मानिस, मेरा पिता दावीदले प्रबन्ध गरिदिनुभएका मेरा दक्ष कारिगरहरूसित यहूदा र यरूशलेममा कुँद्ने काममा शिल्पकार मानिस पठाइदिनुहोस्। 
“मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्दनका मुढाहरू पनि पठाइदिनुहोस्; किनकि तपाईंका मानिसहरू काठ काट्नमा दक्ष छन् भनी म जान्दछु। 
मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ। 
म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।” 
तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।” 
पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ। 
“म तपाईंकहाँ एक अति दक्ष मानिस हूराम-अब्बीलाई पठाउँदैछु, 
जसकी आमा दान वंशकी र बुबाचाहिँ टायरका हुन्। यिनी सुन, चाँदी, काँसा र फलाम, पत्थर र काठका काम, साथै बैजनी, रातो र निलो धागो र मलमलका कपडाका काममा पनि अनुभवी शिल्पकार हुन्। यिनी बुट्टाका काममा तालिम पाएका मानिस हुन् र यिनलाई दिइएको कुनै पनि नमुनाको काम गर्न सक्छन्। यिनी तपाईंका दक्ष कारिगरहरूका साथमा र मेरा मालिक तपाईंका पिता दावीदका कारिगरहरूका साथमा काम गर्नेछन्। 
“अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्। 
हामी तपाईंलाई चाहिएका सबै मुढाहरू लेबनानबाट काट्नेछौँ र ती समुद्रबाट जोप्पामा पठाइदिनेछौँ। तपाईंले त्यहाँबाट ती यरूशलेममा लान सक्नुहुनेछ।” 
सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए। 
तिनले तीमध्ये सत्तरी हजारलाई पहाडमा भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने काममा खटाए। ती मानिसहरूलाई हेरविचार गर्न तिनीहरूमाथि छत्तीस सयलाई नाइके खटाइदिए। 
