﻿1 इतिहास.
23.
जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे। 
तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए। 
तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो। 
दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्। 
चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।” 
दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे। 
गेर्शोनीहरूका छोराहरू: लादान र शिमी। 
लादानका छोराहरू: पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना। 
शिमीका छोराहरू: शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना। लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए। 
शिमीका छोराहरू: यहत, जीजा, येऊश र बेरियाह। शिमीका छोराहरू—जम्मा चार जना। 
यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो। 
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना। 
अम्रामका छोराहरू: हारून र मोशा। हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए। 
परमेश्‍वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो। 
मोशाका छोराहरू: गेर्शोम र एलीएजर। 
गेर्शोमका सन्तानहरू: पहिलो शूबाएल। 
एलीएजेरका सन्तानहरू: पहिलो छोरो रहब्याह। (एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।) 
यिसहारका छोराहरू: पहिलो शलोमीत। 
हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम। 
उज्जीएलका छोराहरू: पहिलो मीका र दोस्रो यिशियाह। 
मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश। 
(एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।) 
मूशीका छोराहरू: महली, एदेर र यरेमोत—जम्मा तीन जना। 
लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो। 
किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ। 
यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।” 
दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए। 
लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्‍वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो। 
तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्‍नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए। 
तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो; 
अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो। 
यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे। 
