﻿1 इतिहास.
16.
तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए। 
दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए। 
त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्‍ला र किसमिसको झुप्पा दिए। 
दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे। 
आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे। 
अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे। 
त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे: 
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर। 
उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर! 
उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। 
याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर। 
उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! 
हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो! 
उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। 
परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो; 
त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, 
त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो: 
“म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।” 
जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए। 
तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे। 
उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: 
“मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” 
हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर। 
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! 
किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ। 
किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो। 
उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्। 
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ। 
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर! 
हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन। 
स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!” 
समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्! 
तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ। 
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। 
यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!” 
याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।” 
त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए। 
तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए। 
दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा 
याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए। 
तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” 
हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए। 
त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के। 
