﻿1 इतिहास.
10.
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए। 
पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। 
शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए। 
शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। 
जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो। 
यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे। 
जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे। 
भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। 
तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए। 
तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए। 
जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्‍ने सुने, 
तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे। 
शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्‍वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्‍लाह लिए; 
तर याहवेहसँग चाहिँ सल्‍लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्‍यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो। 
