﻿1राजाहरू.
3.
सोलोमनले इजिप्टका राजा फारोसित मित्रता बाँधे र तिनकी छोरीलाई विवाह गरे। तिनले आफ्नो महल, याहवेहको भवन र यरूशलेमका चारैतिरका पर्खाल बनाई नसकेसम्म तिनलाई दावीदको सहरमा नै राखे। 
अझै पनि मानिसहरूले अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका थिए। किनकि त्यति बेलासम्म याहवेहको नामको निम्ति मन्दिर निर्माण गरिएको थिएन। 
सोलोमनले आफ्ना पिता दावीदले दिएका निर्देशनअनुसार हिँडेर याहवेहप्रति आफ्नो प्रेम देखाए। तर तिनले अल्गा देवस्थानहरूमा बलिदान चढाउन र धूप बाल्न भने छोडेनन्। 
राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए। 
गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्‍वरले भन्‍नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” 
सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्‍वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्‍नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ। 
“अब हे याहवेह मेरा परमेश्‍वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। 
यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। 
यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?” 
सोलोमनले यो कुरा मागेकोमा प्रभु तिनीसँग प्रसन्‍न हुनुभयो। 
यसकारण परमेश्‍वरले भन्‍नुभयो, “तैँले आफ्नो लागि जीवन, धन वा आफ्ना शत्रुहरूको मृत्यु मागिनस्, तर न्याय प्रशासनमा ठिक र बेठीक छुट्याउने हृदय मागिस्। 
तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ। 
यसबाहेक तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु, अर्थात् धन र सम्मान दुवै दिनेछु। यसरी तेरो जीवनकालमा तेरो बराबरीका राजा कोही पनि हुनेछैन। 
यदि तँ मेरा मार्गहरूमा हिँडिस् र तेरा पिताले झैँ मेरा उर्दीहरू र आज्ञाहरू पालन गरिस् भने म तँलाई दीर्घायु तुल्याउनेछु।” 
तब सोलोमन बिउँझेँ; अनि यो त सपना रहेछ भनी थाहा पाए। तिनी यरूशलेममा फर्के, र प्रभुको करारको सन्दुकको सामु खडा भए। अनि होमबलि र मेलबलि चढाए। त्यसपछि तिनले आफ्ना सबै भारदारहरूलाई भोज खुवाए। 
एक दिन दुई जना वेश्याहरू आएर राजाको सामु उभिए। 
तीमध्ये एक जनाले भनी, “मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ। यो मसित हुँदै मैले एउटा शिशुलाई जन्म दिएँ। 
मेरो शिशु जन्मेको तीन दिनपछि यस स्त्रीले पनि एउटा शिशुलाई जन्माई। हामी दुई मात्रै थियौँ; घरमा हामी दुईबाहेक अरू कोही पनि थिएन। 
“राति सुतेको बेला त्यस स्त्रीले आफ्नो छोरालाई थिचिछ, र त्यो मरेछ। 
यसकारण यो आधा रातमा उठी, र म निदाइरहेकी बेलामा मेरो छेउबाट मेरो छोरालाई लगेर आफ्नो छातीमा राखिछ। अनि आफ्नो मरेको छोरालाई मेरो छातीमा राखिदिइछ। 
भोलिपल्ट बिहानै जब म आफ्नो छोरालाई दूध खुवाउन उठेँ, तब मैले त्यसलाई मरेको भेट्टाएँ! तर जब मैले त्यसलाई बिहान उज्यालोमा नियालेर हेरेँ, तब त्यो त मैले जन्माएको मेरो छोरो होइन रहेछ!” 
तब अर्की स्त्रीले भनी, “होइन, त्यो जिउँदोचाहिँ मेरो हो, मरेकोचाहिँ तेरो हो।” तर पहिलेकीले ढिपी गरी, “होइन, मरेकोचाहिँ तेरो छोरा हो; अनि जिउँदोचाहिँ मेरो छोरा हो।” अनि यसरी ती दुईले राजाको सामु बहस गरे। 
तब राजाले भने, “एउटीले भन्छे, ‘यो जिउँदोचाहिँ मेरो छोरा हो, तर मरेको छोराचाहिँ तेरो हो।’ अनि अर्कीले फेरि भन्छे, ‘होइन, मरेको छोरा तेरो हो, तर जिउँदोचाहिँ मेरो छोरा हो।’ ” 
तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेओ।” यसकारण तिनीहरूले राजाका निम्ति एउटा तरवार ल्याइदिए। 
तिनले हुकुम गरे: “त्यस जिउँदो बालकलाई काटेर दुई टुक्रा पार, र आधा एउटीलाई र आधा अर्कीलाई देओ।” 
जसको छोरा जिउँदो थियो, त्यो आफ्नो छोराको निम्ति मायाले भरिएर राजालाई भनी, “हे मेरा मालिक, दया गरी त्यस जिउँदो बालक त्यसलाई नै दिनुहोस्! त्यसलाई नमार्नुहोस्!” तर अर्कीचाहिँले यसो भनी, “यो बालक न त मेरो, न त तेरो नै होस्। त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।” 
तब राजाले आफ्नो निर्णय सुनाए, “यो बालक पहिलो स्त्रीलाई देओ। यसलाई नमार! यस बालककी आमा त्यही हो।” 
जब सारा इस्राएलले राजाले गरेको यस्तो फैसला सुने, तब तिनीहरूको हृदयमा राजाप्रति श्रद्धाको भावना जाग्यो। किनकि तिनमा न्याय गर्नका लागि परमेश्‍वरको बुद्धि रहेछ भनी तिनीहरूले देखे। 
