﻿2 शमूएल.
18.
दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे। 
दावीदले आफ्ना सेनाहरूलाई एक तिहाइ योआबको नेतृत्वमा, एक तिहाइ योआबको भाइ, अर्थात् सरूयाहका छोरा अबीशैको नेतृत्वमा, एक तिहाइ गित्ती इत्तैको नेतृत्वमा पठाए। राजाले सेनाहरूलाई भने, “म आफैँ पनि तिमीहरूसँग लडाइँमा अवश्य जानेछु।” 
तर मानिसहरूले भने, “हजुर बाहिर ननिस्कनुहोस्। यदि हामी भाग्न बाध्य भयौँ भने पनि तिनीहरूले हाम्रो बारेमा वास्ता गर्नेछैनन्। यदि हामीमध्ये आधाजति नै मर्‍यौँ भने पनि तिनीहरूले वास्ता गर्नेछैनन्। तर हजुर त हाम्रा दश हजार बराबरको हुनुहुन्छ। अहिले हजुरले सहरबाट हामीलाई सहयोग गर्नुभए असल हुनेछ।” 
राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्‌क्ति गरेर अगि बढे। 
राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने। 
दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो। 
त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए। 
युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो। 
युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्‍चरमा सवार थिए। जब तिनको खच्‍चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्‍चरचाहिँ अगि बढिरह्‍यो। 
जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।” 
योआबले त्यो कुरा भन्‍ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।” 
तर त्यस मानिसले जवाफ दियो, “मेरो हातमा चाँदीका एक हजार शेकेल नै जोखेर दिनुभएको भए तापनि म राजाको छोराको विरुद्धमा हात उठाउने थिइनँ। हामीले सुन्‍ने गरी तपाईंलाई, अबीशै र इत्तैलाई, ‘मेरो खातिर त्यस जवान अब्शालोमलाई हानि नगर्नू’ भनी राजाले आज्ञा दिनुभएको थियो। 
अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्‍वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्‍नुहुनेथियो।” 
योआबले भने, “म तँसँग कुरा गरेर समय खेर फाल्न सक्दिनँ।” यसकारण तिनले आफ्नो हातमा तीन वटा बर्छा लिए। अनि अब्शालोम फलाँटको रूखमा अझ जिउँदै झुण्डिरहेका बेला उनले ती तिनको मुटुमा रोपिदिए। 
त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए। 
तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए। 
तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए। 
आफू जीवित हुँदा अब्शालोमले राजाको बेँसीमा आफ्नै निम्ति एउटा स्मारक खम्बा खडा गरेका थिए। तिनले सोचेका थिए, “मेरो नाम कायम राख्नलाई मेरो छोरा छैन।” तिनले त्यस स्मारकलाई आफ्नै नाम दिएका थिए; अनि आजको दिनसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ। 
तब सादोकका छोरा अहीमासले भने, “याहवेहले राजालाई उहाँका शत्रुहरूका हातबाट छुटाउनुभएको छ भन्‍ने खबर दिन मलाई राजाकहाँ दौडेर जान अनुमति दिनुहोस्।” 
योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।” 
तब योआबले एक जना कूशीलाई भने, “जा, तैँले देखेको कुरा राजालाई भनिदे।” तब त्यो कूशी योआबको अगि दण्डवत् गर्‍यो, र दगुर्दै गइहाल्यो। 
सादोकका छोरा अहीमासले योआबलाई फेरि भने, “जेसुकै भए तापनि मलाई त्यस कूशीको पछि दगुरेर जान दिनुहोस्।” तर योआबले जवाफ दिए, “मेरो छोरा, तिमी किन जान चाहन्छौ? तिमीलाई पुरस्कार दिलाउने किसिमको कुनै खबर तिमीसँग छैन।” 
तिनले भने, “जेसुकै होस्, म दौडेर जान चाहन्छु।” यसकारण योआबले भने, “जाऊ!” तब अहीमास मैदानको बाटोबाट दौडे, र त्यस कूशीलाई उछिनेर गए। 
जब दावीद भित्री र बाहिरी मूलढोकाहरूका बीचमा बसिरहेका थिए, तब पहरेदार पर्खालको छेउमा भएको मूलढोकाको छानामा उक्लेर गयो। जब त्यसले हेर्‍यो, तब एउटा मानिस एकलै दौडेर आइरहेको देख्यो। 
त्यस पहरेदारले राजालाई बोलायो, र यो खबर भनिदियो। राजाले भने, “यदि त्यो एकलै छ भने त्यससँग असल समाचार हुनुपर्छ।” त्यो मानिस झन्-झन् नजिक आइपुग्यो। 
तब त्यस पहरेदारले अर्को मानिसलाई पनि दौडेर आएको देख्यो, र पहरेदारलाई बोलाएर भन्यो, “हेर, अर्को मानिस पनि दौडेर आउँदैछ!” राजाले भने, “त्यसले पनि असल समाचार ल्याउँदैछ।” 
त्यस पहरेदारले भन्यो, “मलाई त त्यो पहिला दौडने मानिसचाहिँ सादोकका छोरा अहीमासजस्तो लाग्दैछ।” राजाले भने, “तिनी एक असल मानिस हुन्। तिनले असल समाचार ल्याएको हुनुपर्छ।” 
तब अहीमास आएर राजालाई भने, “सबै ठिक छ!” तिनले राजाको सामु घोप्टो परी दण्डवत् गरेर भने, “याहवेह तपाईंको परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मेरा मालिक महाराजाको विरुद्धमा हात उठाउने मानिसहरूबाट छुटकारा दिनुभएको छ।” 
राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।” 
राजाले भने, “एकातिर उभ र यहीँ पर्ख।” तब तिनी एकतिर गएर उभिए। 
तब ती कूशी आइपुग्यो र भन्यो, “मेरा मालिक महाराजा, असल समाचार सुन्‍नुहोस्! याहवेहले तपाईंका विरुद्धमा उठ्ने सबैको हातबाट आज तपाईंलाई छुटाएर तपाईंलाई न्याय दिनुभएको छ।” 
राजाले कूशीलाई सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” त्यस कूशीले जवाफ दिए, “मेरा मालिक महाराजाका शत्रुहरू र तपाईंलाई हानि गर्नलाई तपाईंको विरुद्धमा खडा हुनेहरू सबै त्यस जवान मानिसजस्तै होऊन्।” 
राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!” 
