﻿2 शमूएल.
17.
अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्। 
तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु। 
अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।” 
यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो। 
तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” 
हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्‍लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्‍नुहोस्।” 
हूशैले अब्शालोमलाई भने, “यस पटक अहीतोपेलले दिएका सल्‍लाह ठिक छैन। 
तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्‍नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्‍चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन। 
अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्‍ने हरेकले भन्‍नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ” 
त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्‍नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्‍ने कुरा सारा इस्राएललाई थाहा छ। 
“यसकारण म तपाईंलाई सल्‍लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्। 
तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्। 
यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्‍याउनेछौँ।” 
अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्‍लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्‍लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो। 
हूशैले सादोक र अबीयाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका प्रधानहरूलाई यसो वा त्यसो गर्नु भन्‍ने सल्‍लाह दिए तर मैले यो गर्नु भनेर उनीहरूलाई सल्‍लाह दिएँ।” 
अब तुरुन्तै खबर पठाएर दावीदलाई भन्‍नुहोला, “उजाडस्थानको जँघारमा रात नबिताउनू। तर अवश्य पार भएर गइहाल्नू, नत्रता राजा र उहाँसित भएका सबै मानिसहरूलाई नाश पारिनेछन्।” 
जोनाथन र अहीमासचाहिँ एन-रोगेलमा बसेका थिए। एउटी सेविकाले गएर तिनीहरूलाई सूचना दिनुपर्थ्यो। अनि तिनीहरूले चाहिँ गएर दावीद राजालाई खबर गर्नुपर्थ्यो। किनकि तिनीहरूले सहरभित्र पस्दैगर्दा कसैले देख्ने जोखिम उठाउन चाहँदैनथिए। 
तर एउटा जवान मानिसले तिनीहरूलाई देख्यो, र अब्शालोमलाई भनिदियो। यसैकरण ती दुवै जनाले तुरुन्तै त्यस ठाउँलाई छोडेर बहूरीममा एक जना मानिसको घरमा गए। तिनको आँगनमा एउटा इनार थियो। तिनीहरू त्यसैभित्र पसे। 
तब त्यस मानिसकी पत्नीले इनारको खुल्‍ला मुख छोप्नका लागि एउटा ढकन ल्याई। त्यसमाथि अन्‍न फिँजाइदिई। यसको बारेमा कसैलाई केही थाहा भएन। 
जब अब्शालोमका मानिसहरू त्यस स्त्रीका घरमा आए, तब तिनीहरूले सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले तिनीहरूलाई जवाफ दिई, “तिनीहरू त खोला तरेर पारि गइसके।” ती मानिसहरूले तिनीहरूलाई खोजे, तर एउटैलाई पनि भेट्टाएनन्। यसकारण तिनीहरू यरूशलेम फर्के। 
जब ती मानिसहरू गइसके, तब ती दुई जना इनारबाट निस्किआए। अनि दावीद राजालाई खबर दिन गए। तिनीहरूले राजालाई भने, “तुरुन्तै उठ्नुहोस्, र नदी पार गरिहाल्नुहोस्। अहीतोपेलले तपाईंको विरुद्धमा सल्‍लाह दिएका छन्।” 
यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए। 
जब अहीतोपेलले आफ्नो सल्‍लाहअनुसार काम नभएको देखे, तब तिनले आफ्नो गधामा काठी कसे। अनि आफ्नो सहरमा भएको आफ्नो घरतिर लागे। तिनले आफ्नो घरपरिवारलाई व्यवस्थित गरे अनि झुण्डिएर आत्महत्या गरे। यसरी तिनी मरे, र तिनको बुबाको चिहानमा गाडिए। 
दावीद महनाइममा गए। अब्शालोमचाहिँ इस्राएलका सारा मानिसहरूसहित यर्दन नदी पार गरेर गए। 
अब्शालोमले अमासालाई योआबको ठाउँमा सेनाहरूका सेनापति नियुक्त गरेका थिए। अमासाचाहिँ योआबकी आमा सरूयाहका दिदी र नाहाशकी छोरी अबीगेलसित विवाह गर्ने येतेर नाम भएका इस्राएलीका छोरा थिए। 
इस्राएलीहरू र अब्शालोमले गिलादको इलाकामा छाउनी हाले। 
जब दावीद महनाइममा आए, तब अम्मोनीहरूको रब्बाका शोबी नाहाशका छोरा, लो-देबारमा बस्‍ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले 
ओढने-ओछ्याउने, बाटा र माटाका भाँडाकुँडाहरू ल्याइदिए। तिनीहरूले गहुँ, जौ, पिठो, चिउरा, सिमी, दाल, 
मह, दही, भेडा र गाईको दूधबाट बनिएका पनीर पनि दावीद र तिनका मानिसहरूले खाऊन् भनी ल्याइदिए। किनकि तिनीहरूले भने, “यी मानिसहरू उजाडस्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।” 
